प्यूठान । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानले शहीद मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। स्मृति दिवसको अवसरमा मल्लरानी गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र बुकीडाँडामा बिहीबार बिहान वृक्षारोपण गरिएको हो।
कार्यक्रममा दालचिनी, सितलचिनी, कोइरालो लगायतका ५० वटा विरुवा रोपिएको थियो। वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, डिभिजन वन कार्यालय प्यूठानका प्रमुख धनिश्वर न्यौपाने लगायतको सहभागिता रहेको थियो।
नेपाल निजामती कर्मचारी संगठन प्यूठानका अध्यक्ष रामबहादुर बस्नेतले संगठनले हरेक वर्ष स्मृति दिवसमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। यसवर्ष घेराबारसहितको सुरक्षित र उपयुक्त स्थान भएकाले बुकीडाँडालाई वृक्षारोपण स्थलका रूपमा चयन गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नेपालले पेशागत हकहितका लागि संघर्ष गर्दै विभिन्न कालखण्डमा शहीद भएका मनोज, झपेन्द्र र सुरेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गरे।

