काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । उनले भने– ुपरीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ । ु
शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।
उनले भने, ‘१२ को परीक्षालाई हामीले जहाँ जहाँ परीक्षा केन्द्र पहिले नै केन्द्र तोकिएको छ, त्यहाँनेर हरेक विद्यालय र विद्यार्थीको अनुरोध आएको छ की समयमै परीक्षा होस् । हामीले आज पनि हरेक जिल्लाहरूको परीक्षा समन्वय समितिलाई विद्यालयहरूमा जहाँ जहाँ केन्द्र तोकिएको छ, केन्द्र तोकिएको ठाउँमा सञ्चालन गर्ने सन्दर्भमा उहाँहरूलाई आवश्यक तयारी गर्न र परीक्षा सञ्चालन गर्न सबैसँग पुनः अनुरोध गर्ने र विद्यार्थीको परीक्षा गम्भीर विषय हो । त्यसैले परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ । यो परिस्थिति सबै हिसाबबाट सबैलाई साढे ५ लाख विद्यार्थीको परीक्षा भएकाले यो परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने बोर्डबाट निर्णय भएको छ ।’

