प्युठान । व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाई बरौला प्युठानको आयोजना तथा नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । २०८२ साल बैशाख १ देखि ७ गतेसम्म संचालन हुने व्यक्तिगत घट्ना दर्ता सप्ताहको पूर्व सन्ध्यामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार त्रिपाठी, वडाका वडाअध्यक्षहरु , वडा सचिव तथा शाखा प्रमुखहरुको उपस्थितीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले व्यक्तिगत घटना दर्ता समयमै गर्न आग्रह गरे । व्यक्तिगत घटना दर्ता ३५ दिनमा गराएमा निःशुल्क हुने हुँदा जनस्तरसम्म यसबारे जानकारी हुन आवश्यक रहेको बताउनुभयो । सप्ताहमा मात्रै नभएर अन्य समयमा पनि व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना जगाउनुपर्ने उनले जोड दिए । यस्ता जनचेतनाका कार्यक्रमहरु गर्न पालिकाले सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने उनको भनाई छ ।
अभिमुखीकरण कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार त्रिपाठीले व्यक्तिगत घटना दर्ता भित्र पर्ने जन्म, मृत्यु , विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदका बारेमा प्रस्तुतिकरण राखेका चिए ।
सेवा इकाईले व्यक्तिगत घट्ना दर्ता सप्ताहको अवसरमा अभिमुखीकरण कार्यक्रम संगै पालिकाका ६ वटै वडामा सन्देशमुलक ब्यानर टास्ने, पालिका भित्र रहेका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घट्ना दर्ता सप्ताहको महत्वको बारेमा जानकारी गराउने , पालिकाबासीलाई आफ्ना व्यक्तिगत घटना दर्ता गर्न अनुरोध सहितको रेडियो अन्तवार्ता, घटना दर्ता सप्ताह सम्बन्धि रेडियो जिङ्गल प्रशारण समेत गरिने ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण इकाई प्रमुख एम।आई।एस। अपरेटर सागर रिजालले जानकारी दिए ।
व्यक्तिको कानुनी पहिचान स्थापित गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्राप्त हुने सेवा प्राप्तीको लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकोले स्व सम्बन्धी जनचेतना अभिबृद्धि गर्न नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागकोे आयोजनामा प्रत्येक वर्ष बैशाख महिनाको पहिलो हप्ता व्यक्तिगत घटना दर्ता सप्ताह मनाईदै आएको छ ।

