प्यूठान । गौमुखी गाउँपालिकाले मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुको लागि लक्षित गरेर निस्शुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर गरिएको छ। बिहीवार एकदिन गौमुखी गाउँपालिका–४, स्थित पुजा स्वास्थ्य चौकी लिवासेमा निस्शुल्क बिशेषज्ञ सहितको मानसिक स्वास्थ्य शिविरमा ९८ जना बिरामीले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
चालू आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रम अन्तर्गत संञ्चालन गरिएको शिविरमा स्थानीय ९८ जना मानसिक रोगीका बिरामीले निःशुल्क उपचार तथा परामर्श सेवा लिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताए । उनका अनुसार उपचार गराउन शिविरमा आएका बिरामीलाई चिकित्सकको सल्लाह अनुसारको औषधी समेत निःशुल्क उपलब्ध गराइएको छ । चालु अर्थिक वर्षमा विनियोजित बजेटबाट ३ वटा निःशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा बिहीवार यो शिबिर संञ्चालन गरिएको जैसीले बताए ।
शिविरमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या,अनिन्द्रा,एकोहोरो हुने,आत्महत्याको प्रयास गर्ने जस्ता समस्याका बिरामीलाई सेवा दिइएको थियो । गौमुखी गाउँपालिकाको आयोजना, प्यूठान अस्पतालको प्राबिधिक सहयोग तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा शिविर सञ्चालन गरिएको थियो ।

