प्यूठान । लुम्बिनी प्रदेशमा बुधबार थपिएका तीन मन्त्रीले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए ।
तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् ।
कांग्रेस र एमालेका ५६ जना सांसदको हस्तक्षरमा साउन ७ गते नेकपा एमाले संसदीय दलका तत्कालीन उपनेता ९हाल नेता० चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।
पहिलोपटक मन्त्रिपरिषद् गठन गर्दा नेपाली कांग्रेसबाट प्रमुख सचेतक तिमिल्सेनाको नेतृत्वमा सरकारमा जाने तयारी थियो । तर, सपथ ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका तिमिल्सेनाको नाम मन्त्रीको सूचिबाट हटाइएपछि उनी असन्तुष्ट बनेका थिए ।
पार्टीभित्रको असन्तुष्टिकै कारण लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । १२ मन्त्रालय रहेको लुम्बिनीमा तीनजना नयां मन्त्री थपिएसंगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ ।
युवा तथा खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले नै सम्हालेका छन् । मन्त्रीमण्डलमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना र कांग्रेसबाट पनि ५ जना मन्त्री पुगेका छन् ।

