प्यूठान । पार्टी नीति,सिद्धान्त र बिचार बिपरित चलिरहेको भन्दै नेपाली कांग्रेस निकट प्रजातन्त्र सेनानीहरुले असन्तुष्ट ब्यक्त गरेका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ, जिल्ला कार्य समिति प्यूठानको तेस्रो अधिवेशनमा बोल्ने सेनानी संघका केन्द्रीय तथा जिल्लाका नेताहरुले चिन्ता ब्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेताले पार्टीको इतिहास बिर्सदै गएको र भबिष्यमा पार्टी नै नरहने हो की भन्ने चिन्ता लागेको उनीहरुले बताएका छन् ।
नेताहरुले राजनीतिमा त्याग बाध्यताले हुने बताउदै त्यागको अपव्याख्या गर्दै पटकपटक लाभ लिन खोज्ने प्रबृत्ति बढ्दै जाँदा संगठन कमजोर भएको बताए । पुर्व सांसद मुक्ति प्रसाद शर्माले पाटी नेतृत्वले बाटो बिराउँछ भने सेनानीहरुले खबरदारी निरन्तर गर्नु पर्ने बताए । गलत गर्नेलाई जनता सामु ल्याउनै पर्ने उनको भनाई छ । पार्टी भित्र नेताहरुले आफ्नो हितका निमित्त गुट बनाएर लागेको उनको आरोप छ ।
यसैबिच संघको अधिवेशनका केन्द्रीय प्रतिनिधि तथा संघका केन्द्रीय सदस्य बिधान प्रसाद श्रेष्ठले पार्टी सुदृढीकरण नगरी अहिलेकै अवस्था कायम रहे कांग्रेसको ईतिहास भएको तर भविष्य नभएको पार्टी हुने सम्भावना भएको भन्दै चिन्ता व्यक्त गरे । नेपाल प्रजातान्त्र सेनानी संघ प्यूठानका अध्यक्ष कमल प्रसाद पोख्रेलको अध्यक्षतामा भएको तेस्रो अधिवेशनबाट पुन उनकै नेतृत्वमा ७ सदसिय कार्यसमिति सर्बसम्मत निर्बचित भएको छ । उपाध्यक्षमा ऋषिराम पण्डित, सचिबमा कमल रिजाल, सदस्यहरुमा श्रीधर सुवेदी, दधिराम शर्मा, कुलचन्द्र उपाध्याय, र शम्शेर बर्मा निर्बाचित भएको निर्वाचन समिति संयोजक गोबिन्दराज पोख्रेलले जानकारी दिए । यस्तै केन्द्रीय प्रतिनिधिमा पुर्ब सांसद मुक्ति प्रसाद शर्मा, टोपाराम पण्डित र देवराज गौतम चयन भएका छन् ।

