काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताउनुभएको छ ।
क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीलङ्का वा बङ्गलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गर्दै नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको स्पष्ट गर्नुभएको हो ।
“नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बङ्गलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ ।’’, नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरूलाई म राम्ररी सिक भन्न चाहन्छु–नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।’’ प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुनी रुपमा रोक्ने स्पष्ट गर्नुभयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू छ दशकदेखि लागिरहेको स्मरण गराउँदै राजनीतिकप्रति घृणा फैलाउने प्रयासले समाजलाई संस्कारहीनता, अराजकता र बेथितितर्फ लगेर छिन्नभिन्न बनाउने धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो न्यायिक कमाई बाहेक अरू सम्पत्तिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानी जानी झुट नबोल्ने, अरूको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने सङ्कल्प दोहोर्याउँदै देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुष्चक्रबाट मुलुकलाई माथि उठाउन आफूहरू लागिरहेको जनाउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओली, सभापति देउवा र बाल गुरु आदित्यनाथले थापाको पुस्तक लोकार्पण गर्नुभएको थियो । प्रधानमन्त्री ओली र सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्वपूर्ण पहल गर्दै आएकामा प्रशंसा गर्नुभएको थियो ।

