रविन विश्वकर्मा,प्यूठान ।
आज प्युठान सहित देशैभर गाईजात्रा पर्व मनाइएको छ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । प्यूठानका नेवारी समुदायले पनि दिवङ्गत भएका व्यक्तिको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । जिल्लाको सदरमुकाम खलङ्गा, बिजुवार,दाखाक्वाडी, कुटिचौर, भिंग्री लगायतका स्थानमा रहेका नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा मादल,बासुरी,झ्याली,सहित परिक्रमा गरी ‘गाईजात्रा’ मनाएका छन् । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । सिँगारीको तारालीलाई राति पुन बजार परिक्रमा गराई बिसर्जन गरिन्छ । दिवंगत भएका व्यक्तिका परिवारले जनैपूर्णिमा दिन ’ताराली’ दोस्रो दिन छिनमिन जात्रा र तेस्रो दिन राति रोपाइ जात्रा निकाल्ने परमपरा छ ।
गाईजात्रा पर्व प्यूठान सहित पाल्पा, गुल्मी, अर्घाखाँची,काठमाण्डौ,उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा, लगायत नेवार समुदायकाको विशेष उपस्थिति रहेका शहरमा धुमधामका साथ मनाइन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यो पर्वमा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गर्ने गरिएको हुँदा हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ । नेवार समुदाय रहेका देशका विभिन्न ठाउँमा आज गाईजात्राको विशेष रौनक छ ।
फोटोहरु


