प्यूठान । तीन जिल्लाको पर्यटकीय स्थल जोड्ने गरी यातायात सेवा सञ्चालन हुने भएको छ । प्यूठान, अर्घाखाँची र गुल्मीका धार्मिक तथा पर्यटकीय स्थलहलाई जोड्ने गरी यातायात सेवा सञ्चालन गर्ने तयारी थालेको हो । शुक्रबार तीन जिल्लाका यातायात ब्यबसायी तथा झिमरुक गाउँपालिकाबीच भएको छलफलले यातायात सेवा सञ्चालन गर्ने निर्णय भएको हो ।
छलफलमा प्यूठान स्वर्गद्वारी– गुल्मीको रेशुङ्गा, स्वर्गद्वारी– सुपादेउराली, मच्छी– सुपादेउराली सिधा यातायात जोड्ने निर्णय भएको झिमरुक गाउँपालिकाका अध्यक्ष प्रमोद पोख्रेलले बताए । ‘यातायात सेवा सञ्चालन भएपछि तीन जिल्लाको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्नेछ’ उनले भने । स्वर्गद्वारी आउने पर्यटकलाई अर्घाखाँचीको सुपादेउराली र रेशुङ्गामा आवतजावत गर्न सहज होस भनेरे यातायात सेवा सञ्चालन गर्न लागिएको हो ।

