रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले गुणस्तरहिन घरेलु मदिरा बिक्री बितरणमा रोक लगाउने भएको छ । बिहिवार बसेको कार्यपालिकाको बैठकले खुल्लारुपमा बिक्री हुँदै आएको घरेलु मदिरा बिक्री बितरण तथा उत्पादनमा रोक लगाउने निर्णय भएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले समाचार स्पेशलाई जानकारी दिए । “हामीले असोज २० गतेदेखी घरेलु मदिरा गुणस्तरहिन भएकाले यसको उत्पादन तथा बिक्री बितरणमा रोक लगाउने गरेका हौं´उनले भने ।
घरेलु मदिराका कारण समाजमा झैझगडा, घरेलु हिंसा जस्ता विभिन्न घटना घटेकाले यसलाई रोक्ने निर्णय गरेको अध्यक्ष पुनले बताए । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न अनुरोध गर्दै अध्यक्ष पुनले सरकारले गैरकानूनी पेशा मानेकाले घरेलु मदिरा उत्पादन बिक्री वितरणमा रोक लगाएको बताए । साथै पालिकाको यो अभियानलाइ पालिकाबासी सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन ।

