काठमाडौं
स्रोत नखुलेको २६ लाख रुपैयाँसहित नेपालगञ्ज विमानस्थलबाट आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् । पक्राउ परेका सापकोटा बाहिरी जिल्लाको अनुगमन गरेर घर विदामा जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख टीकाराज चौलागाईंका अनुसार कर अधिकृत सापकोटा चार दिनअघि रूकुम पश्चिमको आठबीसकोट क्षेत्रमा अनुगमन गर्नका लागि खटिएका थिए ।
सापकोटालाई नेपालगञ्ज विमानस्थलबाट सोमबार बिहान साढे ७ बजे सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जान लागेका सापकोटालाई चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको मोटो रकम भेटिएको हो । सापकोटासँगै रहेका अर्का कर अधिकृत दीपक पौडेल फरार छन् ।

