रविन विश्वकर्मा, प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाएको छ । नजिकिदै गरेको तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्री वितरण र भण्डारण गर्न रोक लगाएको गाउँपालिकाले जनाएको छ ।
प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने भएकोले शुक्रबार एक सुचना जारी गदै प्रतिबन्ध लगाईएको माण्डवी गाउँपालिकाका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले बताए । नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५(१) ले दिएको अधिकार प्रयोग गरी प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध लगाएकोे बताए ।
स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने भएकाले फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लाष्टिकका मालालाई निरुत्साहित गर्न गाउँपालिकाबाट निर्णय गरि प्रतिबन्ध लगाएको गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोसनको भनाइ छ ।
गाउँपालिका अन्र्तगत विभिन्न स्थानहरुमा सयपत्री र मखमली लगायतका फूलहरु उत्पादन भईरहेको बताउदै प्राकृतिक रुपमा उत्पादन भएका फूलहरु र फूलबाट बनेका मालाहरु मात्र प्रयोग गर्न अध्यक्ष अधिकारीले सबैलाई आग्रह गरे ।
अनुगमनका क्रममा नेपाल सरकारको निर्णय विपरित निषेधित कुनै कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही प्रकृया अगाडी बढाउने गाउँपालिकाद्धारा जारी सुचनामा उल्लेख छ ।

