प्यूठान । नेपाल सरकारले आव २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममार्फत ‘सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र’ बनाउने घोषणा कार्यान्वयनका लागि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मानव सेवा आश्रमको आयोजनामा र जिल्ला समन्वय समितिको समन्वयमा भएको कार्यक्रममा सडकमा आश्रित व्यक्तिलाई नाना, खाना, छाना र स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी संस्थापक रामजी अधिकारीले प्रस्तुत गरे।
मानव सेवा आश्रमले हाल २१ जिल्लामा २७ सेवा केन्द्रमार्फत करिब २ हजार बढीलाई सेवा दिइरहेको छ। तर, आश्रमले मात्र सडकमा रहेका मानिसहरूको संरक्षण गर्न नसक्ने भएकाले स्थानीय सरकार र समुदायको सहकार्य अपरिहार्य हुने मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले पनि नीतिमात्र घोषणा गरेर नहुने, राज्य जिम्मेवार भएर कार्यान्वयनमा उत्रिनुपर्नेमा जोड दिए।
प्यूठान क्याम्पसकी प्रमुख कल्पना खड्काले जिल्लामा सडक बालबालिकाभन्दा पनि मानसिक समस्याका कारण सडकमा आश्रित मानिसहरू बढी देखिने भएकाले स्थानीय सरकारमार्फत व्यवस्थापन गरी सेवा केन्द्रसम्म पुर्याउन आवश्यक रहेको धारणा राखिन्।
हाल दाङ र रुपन्देहीस्थित सेवा केन्द्रमा प्यूठान जिल्लाका ६ महिला र ३ पुरुष गरी ९ जना रहेका छन्। तीमध्ये स्वर्गद्वारी नगरपालिकाका ५ जना, प्यूठान नगरपालिका, मल्लरानी, माण्डवी र झिमरुक गाउँपालिकाका १÷१ जना छन्। साथै, प्यूठान घर बताउने ५ जनालाई बुटवलबाट उद्धार गरी आश्रममा राखिएको मानव सेवा आश्रमले जनाएको छ।
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।