प्यूठान । मल्लरानी गाउँपालिकाले दुई महिनादेखि रोकिएको खलंगाको फोहोर संकलन कार्य पुनः सुरु गरेको छ । असारको तेस्रो सातादेखि रोकिएको फोहोर संकलन गत शनिवारदेखि फेरि सुरु भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले तोकेको समयमा फोहोर संकलन तथा व्यवस्थापनको जिम्मा पाएको पुरानो कम्पनीसँगको सम्झौता अवधि सकिएपछि करिब दुई महिनासम्म नगरवासीलाई फोहोरको समस्या झेल्नुपरेको थियो । सम्झौता अवधि सकिएपछि नयाँ कम्पनी छनोट गर्न समय लाग्दा बीचमा सेवा अवरुद्ध भएको अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिए ।
‘फोहोर संकलन तथा व्यवस्थापनको काम विभिन्न कारणले रोकिएको थियो । अहिले नयाँ कम्पनीसँग सम्झौता गरेर यसको व्यवस्थापन सुरु गरेका छौँ,’ गाउँपालिका अध्यक्ष खड्काले समाचार स्पेशसँग भने ।
दुई महिनासम्म फोहोर नउठ्दा स्थानीय बासिन्दा ठूलो असुविधामा परेका थिए । सडक किनार, बजार क्षेत्र र बस्ती नजिकै थुप्रिएका फोहोरका कारण दुर्गन्ध फैलिएको थियो भने सरसफाइसम्बन्धी समस्या बढ्ने चिन्ता पनि स्थानीयले व्यक्त गर्दै आएका थिए ।
नयाँ सम्झौताअनुसार अब नियमित रूपमा फोहोर संकलन हुने गाउँपालिकाले जनाएको छ । फोहोर व्यवस्थापनलाई दीर्घकालीन र प्रभावकारी बनाउन स्थानीय तह आफैँले पनि विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।