प्यूठान । जेनजीको आन्दोलन चर्कने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले सोमबार अपराह्नदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ। अपराह्न ४ बजेदेखि लागू हुनेगरी जारी गरिएको आदेश अनुसार सदरमुकामसहितका संवेदनशील क्षेत्रमा कडाइका साथ सुरक्षा व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सदरमुकाम खलंगा, क्वाडी बेलुवादेखि बाग्दुला, र मित्रमणी चोकदेखि नगरपालिका क्षेत्रसम्म कफ्र्यू लागू हुनेछ। तोकिएको क्षेत्रमा सर्वसाधारणले आवतजावत गर्न, जुलुस निकाल्न, सभा–समारोह गर्न, बैठक, घेराउ वा प्रदर्शन गर्न पूर्णतः प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।
प्रशासनले सार्वजनिक शान्ति सुरक्षा, जनधनको क्षति हुन नदिन तथा सम्भावित अप्रिय घटना रोकथामका लागि यस्तो कदम चालिएको जनाएको छ। सुरक्षा निकायलाई उच्च सतर्कताका साथ कफ्र्यू कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
यसअघि पनि आन्दोलन चर्किएसँगै स्थानीय प्रशासनले वार्ता प्रयास गरेको तर सहमति हुन नसकेपछि कफ्र्यू जारी गर्नुपरेको जनाइएको छ। कफ्र्यू आदेश कहिलेसम्म लागू रहने भन्नेबारे भने प्रशासनले अवस्थाको मूल्याङ्कन गर्दै जाने जनाएको छ।